Muna Bhusal

Politician, Social worker.

Showing posts with label BLOG. Show all posts
Showing posts with label BLOG. Show all posts

Tuesday, December 15, 2020

सर्वसत्तावादी सोचका विरुद्धको शानदार, सभ्य र भव्य प्रदर्शनमा सहभागिता जनाउँदै

December 15, 2020 0

 


फेरी, एक पटक नेपालमा इतिहास दोहोरिएको छ। शक्ति र सत्ताको पोखरीमा डुबुल्की मारेको हिजोका सर्वहाराहरू समेत सम्मिलित कम्युनिस्ट सर्वसत्तावादी सोचका विरुद्ध लाखौँ लाख नेपाली जनताहरू स्वतःस्फूर्त सडकमा ओर्लिएर खबरदारी गरेका छन्।


प्रतिपक्ष भनेको सडकमा कुदिरहेको सवारी साधन जलाउने, निजी तथा सार्वजनिक कम्पाउन्डका रेलिंगहरु तोड्ने, आगजनी र हुलदङ्गा गर्ने होइन, शान्तिपूर्ण ढङ्गबाट आफ्नो संविधान प्रदत्त अधिकारको सदुपयोग गर्दै लोकतान्त्रिक तबले अन्याय, अत्याचार,  भ्रष्टाचार र सर्वसत्तावाद को  विरुद्ध नेपाली जनताहरूको आवाजहरूको प्रतिनिधित्व गर्दै त्यसको प्रतिबिम्बहरू सडक मार्फत बुलन्द पार्ने हो भन्ने पाठ नेपाली राजनीतिमा स्थापित भएको छ।

 

सात दशक लामो नेपाली जनताहरूको निरन्तरको सङ्घर्षबाट प्राप्त उपलब्धिहरूको रक्षाको निम्ति विधिमा आधारित शासन व्यवस्था, कानुनी राज्यको सुनिश्चितता र सबै खाले असमानताहरुका विरुद्ध नेपाली काँग्रेस कोही कसैसँग कहिल्यै सम्झौता गर्दैन र नेपालमा काँग्रेस रहुन्जेल कसैले प्रजातन्त्रको बिरुद्ध कुनै षडयन्त्र गर्न सक्दैन भन्ने संदेश आजको विशाल जन सहभागिताले प्रमाणित गरेको छ।

जय नेपाल,

मुना भुसाल



















    

 

 

Saturday, July 13, 2019

झुट बोल्ने आमा म

July 13, 2019 0


दिपिका भुसाल;
छोरी, आज तिम्रो जिन्दगीको सबैभन्दा ठुलो उत्सवको दिन हो । तर म त्यो उत्सवमा प्रत्यक्ष सहभागी हुन पाइन किनकि तिम्रो र मेरो बिचमा केही थान बाध्यताका समुन्द्रहरू तेर्सिएका छन् लम्पसार परेर र केहिथान परिस्थितिका पहाडहरू ठडिएका छन् बाधक बनेर । त्यसैले छोरी तिम्रो जीवनको सबैभन्दा महत्त्वपूर्ण दिनमा पनि म तिमी सँगसँगै हुन पाइन मलाई माफ गर ।

समयले यसरी ठग्छ भन्ने मैले कल्पना नै गरिन । अव परिस्थितिहरू सुधारिँदै थिए । अव त समाजले आयस्ता हेरेर पनि हाम्रो अवस्था उकासिँदै गएको देखिरहेको थियो । जे होस दु:ख सुख हामी स्थापित हुँदै गएका थियौँ अनि समयले तिमीलाई हुर्काउँदै लगेको थियो र मेरो अनुहारमा केहिथान धर्साहरू थप्दै गरेको थियो ।

जीवनचक्रको यो सुन्दरता म शब्दमा बयान गर्न सक्दिन । ऐनामा म आफैलाई म आफैले मेरै आमा जस्तै देख्न थाल्नु र मेरी छोरी तिमीलाई म जस्तै देख्न थाल्नुउमेरको यस्तो पडाव हो जहाँ आफ्नो अनुहारमा थपिँदै गएका रेखाहरूको पिरलो हुँदैन रहेछ । छोरीको अनुहारमा चढ्दै गरेको रङ्ग देखेपछी त्यही अनुहारमा आफ्नो खुसी भेटिँदो रहेछ । त्यसरी नै मेरी छोरी मेरो प्रतिबिम्ब हुन भनेरै खुशी भईदो रहेछ । हो, म त्यही छायामा रमाउन चाहने आमा हुँ ।

अहिले आफैलाई सम्झन्छु । आफ्नै परिस्थिति सम्झन्छु । म नै सबैभन्दा धेरै झुट बोल्ने आमा हुँ जस्तो लाग्छ छोरी । तिम्रो अगाडी झुटको खहरे जो बगाएकी छु मैले । तोते  बोलीमै तिमीले कहाँ जानेँ मम्मी ? भनेर सोध्दा नै पहिलो झुट बोलेर ‘बेलुकी नै फर्किन्छु’ भनेर मेरो झुटको सुरुवात भएको थियो ।

त्यसपछि तिम्रा प्रश्नहरू कहिले आउने? भएर बदलिए । मैले भोलि पर्सी, अर्को महिना वर्ष, भन्दै टार्दै गएँ म झुट माथि झुट बोल्दै गएँ र तिमीले पत्याउँदै गयौ । फर्कने बाचा पुरा गर्न म दुई तिन पटक तिमीलाई भेट्न आएकी थिएँ नि छोरी । तिमीलाई सम्झना होला । त्यो बेलामा पनि म झुट नै बोलेँ । अव नजानुस् है मम्मीभनेर तिमीले मेरो धोतीको फेर समातेर अनुनय विनय गर्दा मैले अव त जाँदै जान्न भनेर ढाँटेँ । मम्मी फेरी फर्कन्छे भन्ने बुझेरै पनि तिमी ढुक्क भएझैँ गर्थेउ र मेरो काखमा निदाउँथ्यौ । हो त्यही तिमी निदाएको मौकामा म फेरी झिटी गुन्टा बोकेर जहाज चढ्दथेँ । हेर त म कति झुट बोलेँ ।

समय फेरियो तर तिम्रो कहिले आउने भन्ने प्रश्न फेरिएन । तिम्रो एसईई, तिम्रो एघार कक्षा, तिम्रो बाह्रको फाइनल हुँदै तिमी विदेश जाने तयारीको बेलामा भन्दै मेरा जबाफहरू मात्रै फेरीदैं गए । तर पनि तिम्रा जुन जुन महत्त्वपूर्ण समय थिए मैले टाढैबाट आशीर्वाद दिन बाहेक केही गर्न सकिन छोरी ।

तिम्रो बिहेमा त पक्का आउँछुयो प्रसङ्ग त उठेकै थिएन । तिमीले प्रश्न सोध्नु र मैले अर्को झुटो जवाफ दिनु अगाडी नै मैले म फर्कने निर्णय गरेकी थिएँ । मलाई थाह थियो यो बनावटी जवाफ दिने समय होइन । मेरी छोरीको जिन्दगीको सबैभन्दा ठुलो र महत्त्वपूर्ण दिन हो । मैले पनि म जीवितै हुनुको प्रमाण पेस गर्ने दिन हो । त्यसैले साँच्चै म फर्कने निर्णय गरेँ र टिकट समेत काटेँ ।

छोरी बेहुली बनेको हेर्ने रहर कसलाई हुँदैन र बाबा । छोरी अन्माउने बेलामा काखमा च्यापेर छाँद हालेर रुने मन कसको हुँदैन र बाबा । आफूले सिकेका दुख सुखका कुरा प्रत्यक्ष सिकाएर डोली चढाउने रहर कसलाई हुँदैन र बाबा । बाह्रवर्ष सम्म फुट्न नसकेको भक्कानो फोरेर पोलिरहेको छातीलाई अलिकति शीतल बनाउने आशा त मेरो पनि थियो बाबु तर परिस्थितिले त्यस्तो कहाँ हुन दियो र छोरी । म फेरी झुट बोलेँ तिमी सँग । म तिमी बेहुली बनेर अन्मिदा पनि तिमी संगै हुन पाइन, एक्लै कुनामा बसेर रुन्छु अनि सम्झन्छु म जति झुट बोल्ने आमा को होला यो संसारमा ।

हुन त यो उत्सवको समय हो । मेरो छोरी, यो तिम्रो बिहेको दिन हो ।  यहाँ मैले अरू प्रसङ्गका कुरा लेखेर म आउन नपाएको कारण प्रष्ट्याउँन हुन्छ कि हुँदैन मलाई थाहा छैन । तर पनि नलेखी नहुने कुरा छुट्यो भने ‘छोरीको बिहेमा पनि आउन नसक्ने आमा’ भनेर मलाई समाजले गाली गर्ला त्यसैले प्रसङ्ग बाहिरका केही कुरा लेख्छु त्यो पढेर तिमीले आमाको समस्या बुझ है । 

समयले यो पटक पनि धोका नै दियो छोरी । जसको सेवा गरे बापत हामीले पाउँदै आएको सहारामा हामीहरू यहाँ सम्म आइपुगेका थियौँ, तिनै हाम्री रोजगारदाता आमाले हामीलाई सदाको लागि छोडेर परलोक हुन पुगिन । एक हप्ता मात्र उनलाई केही नभइदिएको भए म आज तिम्रो शृंगार गरिरहेको हुने थिएँ होला । तिम्रो सारीको फुर्को मिलाई रहेकी हुने थिएँ होला । तिम्रो हातमा चुरा लगाई रहेकी हुने थिएँ होला । तिमी हाँस्दा म मुस्कुराइरहेकी रहेकी हुने थिएँ होला र तिमी पिल्पिलाउदा धत् लाटी भनेर हकारीरहेकी हुने थिएँ होला ।

तर फेरी ठग्यो हामीलाई यो परिस्थितिले छोरी । ती रोजगारदाता जसले मलाई यो देशमा बसेर तिमीहरूको लालन पालनको लागि सामल जुटाउने बाटो दिएकी थिइन ती आमा समान दाता जसले दिएको जागिर बाट हामी अहिलेको अवस्थामा छौं उनै मान्छे संसारबाट बिदा हुनु त्यो पनि यस्तो समयमा ।,
मेरो जागिर अक्करे भिरमा फलेको तरकारी जस्तो भयो छोरी । टिप्न पनि नसकिने छोड्दा के पकाउने भन्ने समस्या हुने । जागिर छोडेर फर्कौँ फेरी यो देशमा आउने बाटो बन्द हुन्छ, यता फर्कने बाटो बनाएर नेपाल आउँ त्यसको लागि लामो समय लाग्छ । अगाडिका पहाड हेर्छु, ती पहाड छिचोल्न त पर्छ नै, त्यसको लागि यहाँको जागिर नभई सम्भव छैन । आज सम्म जति सङ्घर्ष गरियो त्यो भन्दा बढी नै सङ्घर्ष गर्नै वाकी देखिन्छ ।

तिम्रो बिहे भन्दा मेरो जागिर महत्वपुर्ण कुनै हालतमा होइन छोरी तर केहि त्यस्ता आवस्यकताहरु पुरा हुन बाकीनै छन् जुन मैले अझै केहिबर्ष मेहनत नगरे अधुरै रहन्छन । तिमी ज्वाइँको हात समातेर मलाई भेट्नको लागि माइत आउने यौटा सानो संसार तयार गर्नु छ । बहिनी सानै छे, उसलाई पनि पढाउनु छ, बढाउनु छ र स्थापित गराउनु छ । तिमी त बरु कहाँ जाने मम्मी भनेर सोध्न सक्ने भएकी थियौ म हिँड्ने बेलामा । बैनी त निदाई रहेकी थिई । आज तिम्रो बिहे भयो, यही दिन यस्तै समय सानीको पनि आउँछ, ती सबै जिम्मेवारी हरूले मलाई जहाज चढ्नबाट रोके सानु मलाई आशा छ तिमीले बारम्बार झुट बोल्ने यो आमालाई फेरी एक पटक माफ गर्ने छौ ।

उही तिम्री झुट बोल्ने आमा




Sunday, March 3, 2019

अन्तराष्ट्रिय पर्वत समाजको दुबई भेला

March 03, 2019 0

यस सभाका सभापति महोदय, सम्पूर्ण नेपाली समुदायको आस्थाको केन्द्र एबं हाम्रो मातृभूमिको प्रतिनिधि संस्था युएई  स्थित नेपाली दुतावास’का महामहिम राजदुत महोदय, गैह्र आवासीय नेपाली संघ एनआरएनका केन्द्रीय अध्यक्ष महोदय, अन्तराष्ट्रिय पर्वत समाज नेपालमा एकतावद्द हुनुभएका पर्वत सेवा समाजका  सम्पूर्ण सामाजिक अभियन्ता मित्रहरु साथै आफ्नो र आफ्ना प्यारा प्यारा सन्तानहरुको भविष्यको रुपरेखा बनाउन प्रवासी भूमिमा अहोरात्र मेहनत गरेर रेमिट्यान्स पठाई हाम्रो देश धान्ने अभिभारा आफ्नो काँधमा उठाईरहनु भएका मेरा परदेशी दाजुभाई दिदीबहिनी हरुमा म मुना भुषालको तर्फबाट न्यानो अभिवादन स्विकार्नुहोला ।

समाजसेवा या मानवसेवा हामी नेपालीको अन्तरहृदय बाट पलाउने यौटा स्वस्फुर्त भावना प्रेरित क्रियाकलाप हो । आत्माले आदेश नदिएसम्म कहिल्यै पनि सेवामुखी काम गर्न सकिदैन । हामी आम नेपालीहरुको आत्मा सेवा प्रति बढी नै लालायित छ । अझ प्रवासमा रहनुभएका तमाम मित्रहरुको समाजसेवा प्रतिको यो झुकाव देख्दा म नतमस्तक हुने गरेकी छु ।  

अन्तराष्ट्रिय पर्वत समाजको यो कार्यक्रममा उपस्थित भएर आफ्ना कुराहरु राख्न पाउदा मलाइ निकै गौरवान्वित महसुस भईरहेको छ । संस्था गठन हुदाका बखत प्रथम अधिवेशन चलिरहेको अवस्थामा सिंगो हलले एकमत रुपमा अन्तराष्ट्रिय पर्वत समाजको नेपाल प्रतिनिधि भनेर मेरो नाम  घोषणा गर्दा यो संस्थाको कामको लागि म  दिलोज्यान ले लागि पर्नेछु भनेर मैले प्रण गरेकी थिए । त्यसरी काम गर्ने अवशर प्रदान गर्नुभएको मा संस्था प्रति आभारी छु । नेपाल प्रतिनिधिको रुपमा मैले कति काम गर्न सकें त्यो कुरा हाम्रो कार्यसमिति र समाजले मुल्यांकन गर्ने कुरा हो । मैले मेरोतर्फबाट समय मिलाउदै र परिस्थितिहरु संग जुध्दै आफ्नो सतप्रतिसत दिने प्रयत्न गरेकी छु ।

समाजका पदाधिकारी र हाम्रा जनप्रतिनिधि हरुको बिचमा हुन गईरहेको यो अन्तरक्रियाले हाम्रो समाजलाई भविष्यमा कसरि काम गर्ने भन्ने बारेमा राम्रो मार्ग निर्देश गर्ने छ भन्ने कुरामा म बिश्वस्त छु ।

अहिले सम्म भएका काम हरुमा समाजले खेलकुदको क्षेत्रलाइ प्रथामिकतामा राखेर कभर्डहलको निर्माण गरेको बिषय सह्रानीय छ । युवा वर्गको चाहानालाई मध्यनजर राख्दै उनीहरुलाई उत्प्रेरणा दिने उद्देश्यले समाज बिकाशमा लगानी गर्नु अत्यन्तै फलदायी कुरा हो । यसले समाजलाई नयाँ कुरा प्रदान गरेको छ ।

त्यो भन्दा पनि अत्यन्तै सेवाभावले प्रेरित भई निर्माण गरिएको प्रसुती गृहहरुको आवश्यका र त्यो प्रसुति गृह बाट प्रवाह हुने सेवालाई म यहाँ  शब्द हरुमा ब्यक्त गर्न सक्दिन । असुरक्षित् प्रेग्नेंसी बाट गुज्रिरहेका तमाम आमा र नवजात शिसुहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै हाम्रो संस्थाले सुरु गरेको यो अभियानको हाम्रो स्थानीय समाजले मुक्त कण्ठले प्रसंसा गरेको छ अनि हाम्रो काम प्रति नतमस्तक हुदै सह्राहना गरेको छ । अब प्रसुतीगृह संग पायक परेका ठाउहरुका आमाहरुले सुरक्षित् प्रसुती सेवा प्राप्त गर्नेछन र अब जन्मने नवजात शिशुहरू सुरक्षित् रुपमा हाम्रो काख सम्म आइपुग्नेछन । यो यौटा पुण्यको कामपनि हो र संस्थाले यस्ता कार्यहरुलाई निरन्तरा दिनेछ भन्ने कुरामा म बिश्वस्त पनि छु ।

दैबी बिपत्ति र प्रकोप पिडितहरुलाई  अल्पकालीन राहत र सहयोग बाट माथि उठेर संस्थाले पहिरो पिडित जनतालाई  दिर्घकालिन रुपमा स्थापित गर्नको लागि पिडित दलित बस्तीमा दस वटा आवाश निर्माण गर्यो त्यो कार्यको पनि सबै पक्षबाट सह्राहना भएको छ । उद्दार भएका जनताहरुको आशिर्वाद बाट आगामी दिनमा पनि हामीले यस्तै कामहरु गर्दै जान सक्षम् हुनेछौं भन्ने कुरामा पनि मा बिश्वस्त छु ।

 समग्र पर्वतलाई दुर्गम देखि सुगम सम्म उत्तिकै महत्व दिदै बराबरी को सिद्दान्त अनुसार दिर्घकालिन बिकाश कार्य गर्नुपर्ने र बिपत्ति हरुमा तत्कालिन आवस्यकता हरुलाई मुल्यांकन गरेर सहयोग गर्नुपर्ने चुनौतीहरु हामि समक्ष छन् । हाम्रो कुशल नेतृत्वले सेवाक्षेत्रको निर्धारण बिबादरहित रुपमा निर्धारण गरिरको छ त्यो अर्को सह्रानीय बिषय हो । हामीले समग्र पर्वतलाई कसरि समुन्नत बनाउने भन्ने दुरगामी दृष्टिकोण भएको नेतृत्व चयन गरेका छौं यो नेतृत्वले समाजलाई फरक किसिमले माथि उठ्न प्रेरित गर्नेछ भन्नेकुरामा पनि म बिश्वस्त छु ।

 अन्त्यमा प्रवासमा छरिएर रहनुभएका तमाम दाजुभाई दिदीबहिनीहरुमा एकपटक फेरी म अभिवादन टक्र्याउन चाहान्छु । यता तपाइहरुले मेहनत गरेर पसिना बगाईरहनुभएको छ र त उता देशका कर्णधारहरु निर्धक्क बिद्यालय जान पाइरहेका छन् । यता तपाहरु अहोरात्र खट्नुभएको छ र त उता हिजो देशको अभिभारा आफ्नो काँधमा उठाउनुभएका बृद्द बाबा आमाले ओखातिमुलो गराउन पाउनुभएको छ । यता हजुर हरुले ईमान्दार भएर धन आर्जन गरिरहनुभएको छ र त उता हाम्रो देश धानिएको छ । देश धान्ने जिम्मेवारी आफ्नो काँधमा बोक्नुभएका तमाम परिश्रमी हातहरु कहिल्यै बिमारी नपरुन भन्दै म सुस्वास्थ्यको कामना पनि गर्न चाहान्छु ।

यति भन्दै मेरा दुई शब्द यहि टुंग्याउन चाहान्छु – नमस्कार जयनेपाल





Thursday, February 7, 2019

पर्वत सेवा समाज नेपालले पूर्णश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीवितरण गरेको छ

February 07, 2019 0


पर्वत सेवा समाज नेपालले पूर्णश्वर माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्रीवितरण गरेको छ । विद्यालयमा फरक क्षमता भएका सात जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित पोषाक वितरण गरिएको हो ।

उक्त विद्यालयका फरक क्षमता भएका विद्यार्थीलाई एक शैक्षिक अवधीभर पुग्ने गरि कापी, कलम, पोशाक सहित जाडोको कपडा समेत वितरण गरिएको कार्यक्रममा पर्वत सेवा समाज नेपालको  अध्यक्ष को हैसियतले आफै कार्यक्रमा उपस्थित हुन पाउदा  मलाइ निकै खुशी लागेको छ । विद्यार्थीहरुको शैक्षिक विकासमा टेवा पुर्याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गर्ने हाम्रो संस्थाको प्रमुख लक्ष समेत रहेको कुरा मा यहा हरुलाई जनाकारी गराउन चाहान्छु  


विद्यार्थीहरुलाई पर्वत जिल्ला कुश्मा नगरपालिका खुर्कोट घर भई हाल अमेरिका बस्दै आउनुभएका इन्दुराज रेग्मीको नेतृत्वमा संकलन गरेको आर्थिक सहयोग अभियानमा खुर्कोटका रोशन पौडेल, कुश्मा खरियाका सुनिल पौडेल, सुरज क्षेत्री, सुमन श्रेष्ठको आर्थिक सहयोग र पर्वत सेवा समाज नेपालको विशेष पहलमा शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालयको सहयोगमा सक्रिय भूपू बिद्यार्थी समाजका सदस्य राजु पौड्यालको बिशेष सकृयता र पहलमा यो अभियान सुरु भएको थियो ।

शैक्षिक सामग्री पाउनेमा कक्षा १२ मा अध्यायनरत छात्रा सिता नेपाली, कक्षा ११ मा अध्यायनरत छात्र कुशल अधिकारी, कक्षा १० मा अध्यायनरत सदिक्षा शर्मा तिवारी, कक्षा ७ मा अध्ययनरत छात्र अनिस नेपाली, कक्षा ६ मा अध्ययनरत सुरज लामिछाने, र कक्षा ४ मा अध्ययनरत अनुजा पौडेललाई शैक्षिकसामग्री वितरण गरिएको हो । उक्त सामग्री विद्यालयमा आयोजित स्वर्ण महोत्सवको अवसर पारेर हस्तान्तरण गरिएको छ ।


पर्वत सेवा समाज नेपाल अप्ठ्यारोमा परेका गरिव,दिन, दुखी, असाय र अपाङगता भएका व्यक्तिहरुलाई सहयोग गर्ने संस्था भएको बताउँदै संस्थाले पिछडीएको वर्ग समुदाय, र बाढि पहिरोपीडितलाई सहयोग गदै आएको जिकिर गर्नुभयो । अपाङगता भएकै कारण कोही बालबालिका शिक्षावाट बञ्चित हुन हुदैन भन्ने पर्वत सेवा समाजको संस्थागत मान्यता रहेकै कारण शैक्षिक सामग्री वितरण गरिएको जानाकारी पनि दिनुभयो । पर्वत सेवा समाज गरिव, जेहेन्दार बिद्यार्थी एबं असहाय र उपचार पाउन नसकेका व्यक्तिहरुलाई सहयोग गर्दै  सामजिक कार्यमा अग्रसर हुँदै आएको छ ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् राजनितिज्ञ गणेश पौडेलले पर्वत सेवा समाज नेपालले उदाहरणीय काम गरेको बताउनु भयो । उहाँले पर्वत सेवा समाज नेपालका काम नजिकवाट हेरेको बताउँदै संस्थाले दीन दु:खी र असहायको क्षेत्रमा उदाहरणीय काम गरेको बताउनु भयो ।

साथै पौडेलले आगमी दिनमा विद्यालयका अन्य बालबालिकालाई सहयोग गरिदिन आग्रह गर्नुभयो ।कार्यक्रममा पर्वत सेवा समाज नेपालका सदस्य माधव पौडेलले संस्थाको वारेमा जानकारी दिँदैसहयोग संकलनका विषयमा बोल्नु भएको थियो । शैक्षिक सामग्री पाएपछि विद्यार्थीले उक्तसंस्थालाई धन्यवाद दिएका थिए । उक्त संस्थाले यस अघि पनि विभिन्न गरिव,असहाय, पीडित तथाअपाङगता भएका व्यक्तिहरुलाई सहयोग गदै आएको छ ।

अमेरिका बस्दै आएका इन्दुराज रेग्मीले शैक्षिक सामाग्री हस्तान्तरण पश्चात पर्वत पत्रकार हरुलाई प्रतिक्रिया दिँदै आफुले विगत लामो समय देखी दीन दु:खी, गरिव र असहाय व्यक्तिहरुलाई सहयोगगदै आएको बताउँदै आगमी दिनमा पनि सहयोग गर्ने बताउनु भयो । उहाँले समाजसेवीले आत्मसन्तुष्टि प्रदान गर्ने बताउँदै आत्म सन्तुष्टिका लागि समाजसेवा गरेको बताउनु भयो । उक्त कार्यक्रम उसै विद्यालयका शिक्षक सन्तोष राज पौड्यालले संचालन गर्नुभएको थियो ।




जनसम्पर्क समिति ईजरायल -शुभकामा

February 07, 2019 1


जन सम्पर्क समितिमा आवद्द सम्पूर्ण मित्रहरु साथै सुनौलो भविष्य कोर्नाका खातिर प्रवासी भूमिमा मेहनत गरिरहनुभएका मेरा श्रमजीवी दाजुभाई दिदीबैनी एबं शुभचिन्तक ज्यु हरुमा म मुना भुषालको तर्फबाट जय नेपालको न्यानो अभिवादन स्विकार्नुहोला ।

सम्भावना र अवशर खोज्दै देश छोडेर मुग्लान छिर्नु हाम्रो रहर होइन, आफ्नो मुलुकमा यहा जस्तै यथेस्ट सम्भावनाहरु भैइदिएको भए यहा गरिएको मेहनत आफ्नै देशमा गरिन्थ्यो होला र त्यो मेहनतले पनि हाम्रो भविष्य सुनौलो तरिकाले नै कोर्थ्यो होला तर त्यसो हुन सकेन । आफ्नै घरमा बसेर केहि बिशेष प्रगति गर्न  नसकेको अवस्थामा हामीलाई स्थान र अवशर प्रदान गरेर यो कर्म भूमिले जुन गुन लगाएको छ त्यो गुन प्रति सम्पूर्ण नेपाली जनताको तर्फबाट म हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।

हामि सबैलाई स्मरण हुनुपर्ने अर्को महत्वपुर्ण पाटो भनेको ईजरायल र नेपाल बिचको मैत्रीपुर्ण सम्बन्ध स्वर्गीय महामानव बिशेस्वर प्रसाद कोईरालाले जुन -१ तारिक सन् १९६० मा स्थापित गर्नुभएको थियो दुई देश बिचमा सम्बन्ध स्थापित हुनको लागि तत्कालिन समयमा निकै शक्तिशाली रहेको  राजदरवार को अनिच्छा समेतको परवाह नगरी बिपी ले यो कर्म भुमि संग दौत्य सम्बन्ध को लागि सम्झौता मात्र गर्नुभएन त्यहि सम्बन्धको आधारमा मित्रताको ६० बर्षको ईतिहास बनाउदै आज ईजरायल हामीहरुको ठुलो सहयोगी दाता समेत बन्न पुगेको छ ।

त्यसमाथि संघर्षशील महिला दिदीबहिनी हरुको बाहुल्यता रहेको यो कर्मभूमिले हाम्रो समाज परिवर्तनमा महत्वपुर्ण भूमिका खेलेको छ । महिला दिदीबहिनी हरुलाई आर्थिक पाटोमा सबल बनाउन गरेको यो सहयोग को बयान कुनै शब्द द्वारा गर्न असम्भव छ । एक जना महिला सक्षम् हुदा यौटा सिंगो परिवार सक्षमताको मार्गमा अग्रसर भएको हुन्छ । यहा रोजगारी गरेर आफ्ना सन्तति लाइ सुनौलो भविष्य प्रदान गर्नुहुने तमाम नेपाली भविष्यका कर्णधारका  आमा बुवाहरु प्रति मेरो अत्यन्तै धेरै श्रदा रहेको छ ।

त्यस्तै समाजसेवा मा यहा रहनुभएका साथि हरुले पुर्याउनुभएको योगदानको पनि म मुक्त कण्ठले प्रसंशा गर्न चाहान्छु । पैसा कमाएर आफ्नु मात्र सन्तुष्ट हुनुभएको छैन नेपाल मा आइपरेका दैबी बिपत्ति एबं अन्य प्राकृतिक बिपत्ति हरुमा उद्दार र राहत वितरणमा यहा हरुले देखाउनुभएको तदारुकता एकदम प्रसंसायोग्य रहेको छ । असहायहरु बिमार भएर उपचार नपाउदा,  गरिव र जेहेन्दारले स्कुल जान नपाउदा अथवा अशक्त हरुले हातमुख जोर्न नसक्दा उनीहरुको सहयोग का खातिर उठेका तपाईहरुका हात हरुमा भगवानले अझै शक्ति प्रदान गरुन र तपाइँ हरुको मन अझै फराकिलो हुदै जाओस भन्ने कामना समेत गर्दछु ।

जनसम्पर्क समितिको निमन्त्रणामा यहा सम्म आइपुगेर आफ्नो संगठन बिस्तारको प्रक्रियामा सहभागी हुन पाउदा मैले आफुलाई भाग्यमानि महसुस गरिरहेकी छु । जहाँ जहाँ नेपालीहरु रहेका छन्  त्यहा त्यहाँ नेपाली कांग्रेसको उपस्थिति नहुने भन्ने कुरै भएन किनभने नेपालि कांग्रेस भनेको हाम्रो प्रजातन्त्रको जननी हो, त्यहि प्रजातन्त्रको कारणले आज हामि स्वतन्त्र छौं, सार्बभौम छौं र यो स्थानमा छौं भन्नेकुरा हामीले सदा सर्वदा मनन गर्नुपर्दछ 

चाहे जहानिया राणा शाशनको अन्त्यको लागि महामानव बिशेस्वर प्रसाद कोइरालाको नेतृत्वमा गरिएको  आन्दोलन होस् या निरङ्कुश पंचायती ब्यबस्था ढाल्नको लागि लौह पुरुष गणेशमान  सिंहको अगुवाईमा भएको आन्दोलन होस् ति आन्दोलनले नेपाली जनतालाई स्वतान्त्रता के हो र त्यसको उपभोग कसरि गर्न पर्छ भन्ने कुरा बुझाएको थियो । तर समय बित्दै जाँदा स्वतन्त्रताको फरक परिभाषाहरु प्रतिपादित हुदै गए । कहिले ‘नौलो जनवाद’ त कहिले ‘प्रचण्ड पथ’ को नाममा आएका यस्ता सिद्दान्त हरुले जनतालाई स्वतन्त्रता प्रदान गर्ने नाममा आपसमा लड़ाउदै लगे । 

निरंकुशताको जन्म यसरि नै हुने हो ।  जनता लाइ युद्दमा होमेर हज्जारौ निर्दोष जनताको मृत्यु पछाडी प्राप्त उपलब्धि लाइ भार्याङ्ग बनाउदै सत्तामा पुगको कम्युनिष्ट नेतृत्व निरङ्कुश हुदै जान थालेको छ । प्रतिपक्षको अस्तित्वलाई स्वीकार नै नगर्ने, प्रतिपक्षको उपस्थितिलाइ बेवास्ता गर्ने र निरङ्कुश शैलीमा राज्यसत्ता चलाउने अभिप्रायले सरकारले जनताको मत को गम्भीर अपमान गर्दै गईरहेको छ ।


नेपाल राणा हरुको शाशन बाट मुक्त भयो, पंचायती शाशन बाट मुक्त भयो, राजा ज्ञानेन्द्रको शाशन बाट मुक्त हुनको लागि तेश्रो जना आन्दोलन गर्नु पर्यो अब कम्युनिष्ट हरुको निरंकुशता बाट मुक्तिको लागि चौथो आन्दोलन गर्नु नपर्ला भन्न सकिदैन । दुइ तिहाई बहुमतको दम्भमा प्रतिपक्षको भूमिकालाई गौण ठान्ने भुल गरेको अहिलेको सरकार आलोचित हुदै जान थालेको छ ।

यो सरकारले  गर्ने क्रियाकलाप हरु यसरीनै कार्यकर्तामुखी हुदै गए र जनमुखी हुन सकेनन भने एकदिन जनमत कै बल ले उनीहरुलाई सत्ता बाट टाढा पुर्याउने छ । सरकारमा रहेका नेता हरुलाई अहिले त्यहि कुराको पिर छ त्यसैले उनीहरु जसरि पनि जनतालाई भुलाउन चाहान्छन । कहिले पानीजहाज त कहिले चुच्चे रेल को आव्स्वाशनमा अब जनता लाइ मुर्ख बनाउन गाह्रो छ । त्यी आस्वाशन हरु फगत कोरा सपना मात्र हुन् भन्ने कुरा जनताले बुझ्दै गईरहेका छन् ।

बिकाशका ठोस परिणाम को लागि अब जनता सडकमा उत्रनु को विकल्प छैन, त्यहि आन्दोलन लाइ दवाउनको लागि र सत्तामा कब्जा जमाईराहनको लागि पनि सरकार चरम निरङ्कुश बन्ने निश्चित छ । त्यो निरंकुशता संग लड्नको लागि नेपाली कांग्रेसमा आवद्द हामि जनताले अब शक्ति संचय गर्नुपर्ने अवस्था आइपरेको छ । आफ्नो अलोकप्रियता लाइ ढाकछोप गर्न र फेरी पनि सत्तामा पुग्नको लागि अर्को चुनावमा यो सरकारले निरंकुशताको पराकाष्टा पार गर्ने छ  । त्यो अवस्थाको प्रतिवाद कसरि गर्ने भन्नेमा नेपाली कांग्रेसले आजै देखि रणनीति बनाउनु पर्दछ । 

अआगामी चुनावमा नेपाली कांग्रेस को बहुमतको लागि हामि सबै कार्यकर्ता हरुको योगदान उस्तै र उत्तिकै हुने गर्दछ । मेरा प्यारा मित्रहरु जो नेपाल बस्न पाउनुभएको छैन तपाइँ हरु मतदान बाट बन्चित हुनु परेको छ । एक एक भोट को महत्व रहने समयमा र अवस्थामा हाम्रा मत खस्न नपाई खेर गईरहेका छन् । तर सम्पूर्ण प्रवाशी मित्रहरुका घरमा रहेका भोट हरु खेर नजाउन या अन्यत्र न खसुन भनेर सचेत हुनु पर्दछ । मलाइ आशा छ प्रवास बाट तपाइहरुले पठाएको पसिनाको कमाइ खर्चेर तयार हुदै गरेको  तपाइँ को घरको नया पुस्ता पनि नेपाली कांग्रेस प्रति उत्तिकै ईमान्दार रहनु पर्छ भन्ने बिषयमा सचेत हुन जरुरि छ । युवा हरुलाई अनर्गल सपना देखाएर पार्टी प्रवेश गराउने नया खेल मा सरकार लागि परेको छ त्यो कुरा संग हामि समयमै सचेत हुनु जरुरि छ ।

यहा आएर हेर्दा म अचम्भित भएकी छु । आफ्नो देश बाट यति टाढा आएर पनि अनि लामो समय काम मा ब्यस्त भएर पनि साथि हरु समाजसेवा प्रति अनि राजनीति प्रति यति धेरै जागरुक भएको देख्दा मैले आफुले पार्टीको लागि गरेको योगदान गौण देखिरहेकी छु । नेपाल मा रहेर पार्टीको कामको लागि दौडधुप गर्न जति गाह्रो छ त्यो भन्दा गाह्रो प्रवाशमा रहेर पार्टीको काम मा खट्न  धेरै गाह्रो हुन्छ यो हामि सबैले बुझेकै कुरा हो । जति धेरै गाह्रो भएपनि अथवा जति धेरै अफ्त्यारा हरुको बावजुद पनि साथीहरुले संगठन बिस्तारमा देखाउनुभएको तदारुकता बाट म धेरै नै प्रभावित भएकी छु ।
हामीहरुको यहि लगन यहि मेहनत र यहि ईमान्दारीताले नेपाली कांग्रेस अझै बलियो हुदै जानेछ, नेपालि कांग्रेस बलियो हुदै जानु भनेको प्रजातन्त्र बलियो हुदै जानु हो त्यसमा दुइमत छैन ।

आजको यो अधिबेशन बाट चुनिनुहुने नेतृत्वले संगठन बिस्तार र नेपाली कांग्रेस को सिद्दान्तको प्रचार प्रसारमा कुनै कसर बाकि राख्ने छैन, निर्बिबाद रुपमा पूर्ण प्रजातान्त्रिक पद्दतिबाट चुनिन गईरहेको जन सम्पर्क समिति ईजरायलको नया नेतृत्वलाइ अग्रिम शुभकामना दिन चाहान्छु चुनाउमा अल्पमतमा पर्नुभएका या समकक्षि मित्रहरु बाट पराजित हुनुभएका मित्रहरु पनि प्रजातान्त्रिक मूल्य मान्यतालाइ आत्मसात गर्दै चुनावी प्रकियाको सम्मान गर्नुहुनेछ भन्ने बिस्वाश गर्दछु ।

अन्त्यमा प्रवासी भूमिमा यसरि खटेर पार्टीलाई योगदान गर्नुहुने  सम्पूर्ण मित्रहरुमा एकमुष्ट धन्यबाद ज्ञापन गर्दै मेरा दुइ शब्द यहि टुंग्याउन चाहान्छु
–जयनेपाल ।
मुना भुसाल